Loader

एफवान सफ्ट १९ औँ वर्षमा, जसअन्तर्गत छन् यस्ता १४ नामी कम्पनी!

  • Home
  • News
  • एफवान सफ्ट १९ औँ वर्षमा, जसअन्तर्गत छन् यस्ता १४ नामी कम्पनी!
पछिल्लो समय बढ्दो डेटा तथा एआई प्रविधिलाई मध्यनजर गर्दै एफवान सफ्ट अन्तर्गत ‘एक्सटेन्सो डेटा’ नामक कम्पनीको उदय भएको हो । जसले नेपालका विभिन्न कम्पनीसँग छरिएर रहेका डेटालाई केलाएर त्यसबाट विभिन्न कम्पनीहरूलाई आम्दानीको स्रोतको रुपमा उपलब्ध गराउँदै आएको छ ।

काठमाडौं । भुक्तानीमा नगद कारोबार अझै पनि बलियो आम प्रवृत्ति हो । अधिकांश खुद्रा कारोबारमा बिक्रेता र क्रेता दुवै पक्षको प्राथमिकतामा नगद नै पर्छ । तर पछिल्ला केही वर्षयता यस्तो आम प्रवृत्तिमा केही परिवर्तन देखिन थालेको छ ।

डिजिटल माध्यमको प्रयोग नगद कारोबारको एउटा बलियो विकल्पको रुपमा देखा परिरहेको छ । मोबाइल भुक्तानीबाट विकसित हुँदै गएको यो नयाँ प्रवृत्ति अहिले क्यूआर कोडको प्रचलनसम्म आइपुगेको छ ।

क्यूआर कोडमार्फत हुने भुक्तानीलाई नेपालमा अभ्यस्त बनाउने श्रेय एफवान सफ्ट इन्टरनेसनल अन्तर्गतको फोन–पेलाई जान्छ । फोन–पेको प्रणाली विकास हुनुअघिका केही रोचक मोडहरू एफवान सफ्टमा देखिए ।

सन् २००४ मा वेबसाइट निर्माण तथा होस्टिङ र सन् २००७ मा एसएमएसमा आधारित नेपाल टेलिकमको भ्यास (भ्यालु एडेड सर्भिसेस) प्रदायकको रूपमा काम गर्न थालेको एफवान सफ्ट आज नेपालको डिजिटल अर्थतन्त्र निर्माणको एउटा मजबुत कडीको रुपमा स्थापित भएको छ ।

नेपालमा डिजिटल कारोबार सम्भव छ भन्दा पनि अनौठो लाग्ने सन् २००६ का ती दिनमा वित्तीय क्षेत्रको गुरु योजना निर्माण गर्दाको समयदेखि आजसम्म आइपुग्दा एफवान सफ्ट एउटा ग्रुप अफ कम्पनी (कम्पनीहरूको समूह) को रुपमा स्थापित भएको छ ।

वार्षिक अर्बौं रुपैयाँको कारोबार गर्ने कम्पनीको रुपमा स्थापित हुँदै गर्दा यसले देशको डिजिटल अर्थतन्त्रमा निकै ठूलो भूमिका समेत निर्वाह गर्दै आएको छ । सन् २००६ मा एफवान सफ्टले बुनेको वित्तीय क्षेत्रको गुरु योजनाले सन् २००९ बाट पहिलो पाइला चालेको थियो ।

ई–सेवाको रुपमा वालेट सुरु गर्दा नेपालमा सायद थोरैले मात्र मोबाइलबाटै कारोबार सम्भव छ भन्ने कल्पना गरेका थिए होलान् । तर, कम्पनीका संस्थापक विश्वास ढकाल, अस्गर अली र सुभास शर्माको चुनौतिपूर्ण नयाँ काम गर्ने अठोटले सन् २००७ मा एसएमएस बैंकिङ सुरु भयो ।

यसको सुरुवात लक्ष्मी बैंकबाट भएको कम्पनीका संस्थापक सुभास शर्मा सम्झिन्छन् ।  विस्तारै ग्लोबल बैंक र बैंक अफ एसियाबाट इन्टरनेट बैंकिङमा हात हालेको कम्पनीले सन् २००९ मा ‘ई–सेवा’ सार्वजनिक गर्‍यो ।

‘यो नै एफवान सफ्टको आफ्नै डिजिटल कारोबारको पहिलो पाइला थियो,’ उनी भन्छन् । एफवान सफ्टको एउटा प्रडक्टको रुपमा सुरु भएको ई–सेवा प्रारम्भिक चरणमा एसएमएसमा आधारित थियो ।

एसएमएस बैंकिङबाट आफ्नो सेवा सुरु गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई आवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता निकै लोकप्रिय प्रविधि पस्किएको छ । ई-सेवा सन् २०१२ मा छुट्टै कम्पनीको रूपमा स्थापना भयो ।

जुन एफवान सफ्ट अन्तर्गतको पहिलो कम्पनी थियो । हाल एफवान सफ्ट ग्रुप अन्तर्गत एक दर्जन बढी कम्पनी सञ्चालनमा छन् । जसमा फोनपे, ई-सेवा मनी ट्रान्सफर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेक, ई-सेवा ट्राभल एण्ड टुर, बस सेवा, स्वस्तिक कलेज, एक्सटेन्सो डेटा, दर्शन टेक, आई सोलुसन जस्ता नामी कम्पनीहरू पनि छन् ।

जसले नेपालको आईटी क्षेत्रमा हजारौंलाई रोजगारी दिएका छन् । यसभन्दा पनि महत्त्वपूर्ण कुरा दिनभर काउन्टर अगाडि लाइनमा बसेर तिर्नुपर्ने बिल भुक्तानीको बाध्यता अहिले मानिसको हातको औँलामा सीमित भएको छ ।

राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७८ पुस महिनामा मात्रै इन्टरनेट बैंकिङतर्फ कूल दुई लाख ५६ हजार २२८ ओटा कारोबार भएका छन् । जसमार्फत कूल १३ अर्ब ४९ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै पुस महिनामा मोबाइल बैंकिङमार्फत भएका एक करोड ३५ लाख १८ हजार ९३६ कारोबारबाट ९४ अर्ब ४० करोडभन्दा बढीको भुक्तानी भएको छ । सोही समयमा मोबाइल वालेटमार्फत एक करोड ३७ लाख १२ हजार २६ पटक कारोबार सम्पन्न भए ।

जसको कूल कारोबार १६ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै क्यूआरमार्फत गएको पुस महिनामा मात्रै छ अर्ब ५२ करोड रुपैयाँको कारोबार भयो । कारोबार संख्या झण्डै सवा १९ लाख पुगेको छ ।

यो तथ्याङ्क कतै न कतै एफवान सफ्टसँग जोडिएर आउँछ । एफवान सफ्टले निर्माण गरेको डिजिटल बैंकिङ इकोसिस्टममा आज देशका ९० प्रतिशतभन्दा बढी बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।

नेपाल राष्ट्र बैंकको नीतिगत तयारी, अन्य भुक्तानी सेवा प्रदायक र बैंक तथा वित्तीय संस्थाको समेत यसमा महत्त्वपूर्ण योगदान रहेको छ ।

शर्मा भन्छन्, ‘आज एफवान सफ्टले निर्माण गर्ने प्रविधिले आम नेपालीको दैनिकी सहज बनाउन मद्दत पुर्‍याएको छ । जसको फाइदा मुलुकलाई पनि भएको छ । नेपाल सरकारको डिजिटल नेपाल निर्माण गर्ने परिकल्पनालाई साकार गर्न हाम्रो पहलले थोरै भएपनि योगदान पुर्‍याएको जस्तो लाग्छ ।’

डिजिटल कारोबारमा एमएमएसमा आधारित टपअप बाट सुरु भएको यात्राले आज एफवान सफ्टलाई नेपालको ठूलो र अग्रणी आईटी कम्पनीको रूपमा स्थापित गरेको छ । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको छ ।

बैंकिङ क्षेत्रलाई डिजिटलाइज गर्दै अघि बढेको कम्पनीले आफ्नो दायरा अहिले स्वास्थ्य, शिक्षा, यातायात, खानेपानी लगायतका क्षेत्रमा पनि विस्तार गरिसकेको छ । आज भन्दा १८ वर्ष अघि सुरु भएको एफवान सफ्टले नेपालको डिजिटल अर्थतन्त्रमा निकै ठूलो भूमिका निर्वाह गरेको छ ।

आज कम्पनीले आफ्नो १८ औं वार्षिकोत्सव मनाउँदै छ । यही पृष्ठभूमिमा आज हामी यहाँ एफवान सफ्ट अन्तर्गतका १४ कम्पनीको संक्षिप्त परिचय समेत प्रस्तुत गर्दैछौँ । 

१. एफवान सफ्ट

एफवान सफ्ट ग्रुप अफ कम्पनीको रुपमा स्थापित भएपनि यो एउटा छुट्टै कम्पनी पनि हो । जसले विभिन्न क्षेत्रका लागि सफ्टवेयर विकासका साथै अन्य कम्पनीहरूमा लगानी गर्ने काम गर्दै आएको छ ।

अर्थात् एफवान सफ्ट एउटा इन्भेष्टमेन्ट कम्पनी पनि हो । विगत १९ वर्षदेखि सञ्चालनमा रहेको कम्पनीले थुप्रै कम्पनीमा लगानी गरिसकेको छ ।

आज देशका अधिकांश बैंक तथा वित्तीय संस्थामा एफवान सफ्टले निर्माण गरेका अनलाइन र मोबाइल बैंकिङ सेवाहरू सञ्चालनमा छन् । आफ्नो सेवाको दायरालाई नेपालमा मात्रै सीमित नराखेर कम्पनीले विदेशमा पनि विस्तार गरेको छ ।

२. ई-सेवा

ई-सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । एफवान सफ्टको पहिलो उत्पादन समेत रहेको यो वालेटको सुरुवात सन् २००९ मा बेटा भर्सनको रुपमा सार्वजनिक भएको थियो ।

सन् २०१० जनवरी २५ बाट औपचारिक रुपमा सेवा सुरु गरेको कम्पनीले हाल झण्डै ५० लाख ग्राहकलाई प्रत्यक्ष रुपमा तथा अप्रत्यक्ष रुपमा ( एक लाख एजेन्ट नेटवर्कमार्फत) डेढ करोड जनतालाई भुक्तानी सेवा उपलब्ध गराइरहेको छ । 

ई-सेवाबाट हाल दैनिक दुई लाखभन्दा बढी कारोबार तथा डेढ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी हुने गरेको छ । मोबाइल टपअपदेखि, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, रेमिट्यान्स, हवाइजहाज, बसको टिकट, स्कुल कलेज फि लगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क यसबाट भुक्तानी गर्न सकिन्छ । 

ई-सेवामा हाल ४९ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यको रुपमा रहेका छन् । ती सबै बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । ई-सेवाको सेवा वेबसाइट र मोबाइल एप दुवैमा उपलब्ध छ ।

३. फोन पे

राष्ट्र बैंकबाट अनुमति प्राप्त फोन पे भुक्तानी प्रणाली सञ्चालक हो । फोन पेले नेपालको क्यूआर भुक्तानीमा नयाँ आयाम सिर्जना गर्न सफल भएको छ । फोन पेको नेटवर्कमा एक करोड ३० लाखभन्दा बढी प्रयोगकर्ता दर्ता छन् ।

त्यस्तै मर्चेन्टको सङ्ख्या एक लाख ५० हजार बढी  र ५० बढी साझेदार जोडिएका छन् । फोन पे अन्तर्गत फोन-पे अफर, फोन पे मर्चेन्ट, फोन पे डाइरेक्ट, क्यूआर पेमेन्ट, कर्पोरेट फोन पे, हब पेमेन्ट, थर्डपार्टी पेमेन्ट लगायतका सेवा उपलब्ध छन् ।  

४. कोजेन्ट हेल्थ

नेपालको स्वास्थ्य क्षेत्रलाई डिजिटाइज गर्ने योजनाका साथ कोजेन्ट हेल्थ प्रालिको सुरुवात भएको हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मार्फत अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई डिजिटलाइज गर्न आवश्यक प्रविधि तयार पार्दै आएको छ ।

हाल यो सिस्टममा रहेर देशका विभिन्न स्वास्थ्य संस्थाहरू सञ्चालनमा छन् । जसमा कोजेन्ट हेल्थ र ई-सेवाले निर्माण गरेको ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधि कम्पनीले उपलब्ध गराइरहेको छ ।

५. दियालो टेक्नोलोजिज

एफवान सफ्ट ग्रुप अन्तर्गतको दियालो टेक्नोलोजीले अकाउन्टिङ सिस्टमका साथै खानेपानीको क्षेत्रमा काम गर्दै आएको छ । खानेपानीतर्फ कम्पनीले ‘वाटरमार्क’ नामक सफ्टवेयर निर्माण गरेको छ ।

जसको प्रयोग देशका धेरैजसो खानेपानी समितिमा प्रयोग हुँदै आएको छ । खानेपानीको भुक्तानी तथा त्यसको व्यवस्थापनलाई डिजिटलाइज गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । कम्पनीले नेपालमै पहिलो पटक क्लाउडमा आधारित अकाउन्टिङ सफ्टवेयर ‘ई-लेखा’ लगायतका अन्य सफ्टवेयर पनि निर्माण गर्दै आएको छ ।

६. दर्शन टेक तथा आई सोलुसन 

बीमा क्षेत्रलाई डिजिटलाइज गर्ने एफवान सफ्टको प्रयास हो, दर्शन टेक । बीमा भुक्तानी, बीमा कारोबार, बीमा लेखदेखि बीमा क्षेत्रमा हुने विभिन्न म्यानुअल कामलाई यसले प्रविधिमा रूपान्तरण गर्ने काम गर्दै आएको छ ।

त्यसका लागि कम्पनीले ‘आई सोलुसन’ नामक सफ्टवेयर निर्माण गरेको छ । कुनै समय विदेशी सफ्टवेयरमा निर्भर नेपालको बीमा क्षेत्रमा आज दर्शन टेकले निर्माण गरेको सफ्टवेयर निकै लोकप्रिय छ ।

कम्पनीका अनुसार हाल नेपालका अधिकांश जीवन बीमा कम्पनीमा आई सोलुसन सफ्टवेयर प्रयोग भइरहेको छ ।

७. ई-सेवा मनी ट्रान्सफर

एफवान सफ्टको अर्को प्रडक्टको रुपमा ई-सेवा रेमिट्यान्स सञ्चालनमा छ । करिब दुई वर्ष अघि रेमिट्यान्सलाई प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ यो कम्पनीको सुरुवात भएको थियो ।

विदेशमा रहेका नेपालीले आर्जन गरेको पैसा देशमा रहेका घरपरिवारको हातमा रहेको मोबाइलमा पुर्‍याउने गरी यो कम्पनीले काम गर्दै आएको छ । ई-सेवा मनी ट्रान्सफरको सेवा हाल २२ ओटा देशमा विस्तार भइसकेको छ ।

विदेशबाट पठाएको रेमिट्यान्स ई-सेवा मनी ट्रान्सफरका आठ हजार बढी एजेन्ट तथा ई-सेवा वालेटबाट प्राप्त गर्न सकिन्छ । त्यस्तै पठाइएको रकम नेपालमा कुनै पनि बैंक खातामा तत्कालै जम्मा गर्न सकिन्छ । 

८. एक्सटेन्सो डेटा

पछिल्लो समय बढ्दो डेटा तथा एआई प्रविधिलाई मध्यनजर गर्दै एफवान सफ्ट अन्तर्गत ‘एक्सटेन्सो डेटा’ नामक कम्पनीको उदय भएको हो । जसले नेपालका विभिन्न कम्पनीसँग छरिएर रहेका डेटालाई केलाएर त्यसबाट विभिन्न कम्पनीहरूलाई आम्दानीको स्रोतको रुपमा उपलब्ध गराउँदै आएको छ ।

त्यसैले यो कम्पनीलाई एफवान सफ्ट अन्तर्गतको ‘डेटा एनालाइटिक्स’ कम्पनी रुपमा पनि हेरिन्छ । कम्पनीले एआई, डेटा एनालाइटिक्स, प्रिडेक्टिभ एनालाइसिस र बिग डेटाको क्षेत्रमा काम गर्दै आएको छ ।

जसमार्फत बिजनेस एनालाइटिक्स, फ्युचर फोरकास्टिङ, प्रोसेस अप्टिमाइजेसन, डेटा इन्जिनियरिङ तथा प्रोसेस अटोमेसन जस्ता सेवा उपलब्ध छन् । 

९. स्वस्तिक कलेज

आफू डिजिटल कारोबारको पायनियर भइरहँदा त्यसका लागि आवश्यक पर्ने दक्ष विद्यार्थी तथा मानव संसाधन उत्पादन गर्ने उद्देश्यका साथ कम्पनीले स्वस्तिक कलेजमा लगानी गरेको हो । 

आईटी कलेजको रुपमा रहेको स्वस्तिकमा ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (बीएससी सीएसआईटी) र ब्याचलर इन कम्प्युटर एप्लिकसेन (बीसीए) विषयहरू पढाइ हुँदै आएका छन् । यहाँ पढेका विद्यार्थीलाई एफवान सफ्टमा जब प्लेसमेन्टको सुविधा समेत उपलब्ध गराइँदै आएको छ ।

१०. बस सेवा

नेपालको यातायात क्षेत्रलाई डिजिटाइज गर्ने क्रममा ‘बस सेवा’ को सुरुवात भएको हो । बस सेवा डटकम नेपालको पहिलो अनलाइन रियल टाइम टिकट बुकिङ प्लेटफर्म हो ।

जसमार्फत घरमै बसेर सहज रूपमा अनलाइनबाट बसको टिकट काट्न सकिन्छ । साथै टिकटको पैसा पनि अनलाइनबाटै भुक्तानी गर्न सकिन्छ । यसका लागि कम्पनीले मोबाइल एप समेत उपलब्ध गराएको छ ।

११. फिट इन्टरनेसनल

नेपालको डिजिटल मार्केटिङ एजेन्सीको रुपमा उदाउँदै गरेको कम्पनी हो, फिट इन्टरनेसनल । एफवान सफ्ट ग्रुप अन्तर्गतको यो कम्पनीले विभिन्न कम्पनीहरूको मार्केटिङ र ब्रान्डिङ सम्बन्धी काम गर्दै आएको छ ।

यसका साथै यो कम्पनीले आफूलाई फेसबुक विज्ञापनको आधिकारिक बिक्रेताको रुपमा समेत दाबी गर्दै आएको छ । यसैअन्तर्गत ओहो डोमेन, भाइबर बिजनेस मेसेजेज र साउटआउट पनि रहेका छन् ।

१२. लोजिका बिन्स 

आउटसोर्सिङमा काम गर्दै आएको ‘लोजिका बिन्स’ एफवान सफ्ट अन्तर्गतकै एउटा कम्पनी हो । जसले देश तथा विदेशमा विभिन्न कम्पनीसँगको सहकार्यमा काम गर्दै आएको छ । 

१३. सिरान टेक्नोलोजिज 

इन्टरप्राइजमा आधारित सेवाहरू प्रदान गर्दै आएको सिरान टेक्नोलोजिज पनि एफवान सफ्ट ग्रुप अन्तर्गतकै कम्पनी हो । जसले म्यानेजमेन्ट सिस्टम, मोबाइल, डेस्कटप तथा वेबमा आधारित विभिन्न एप्लिकेसनहरू निर्माणको काम गर्दै आएको छ ।

१४. ई-सेवा ट्राभल

एफवान सफ्ट ग्रुपको पछिल्लो लगानी ‘ई-सेवा ट्राभल’ हो । नेपालको पर्यटन क्षेत्रलाई डिजिटाइज गर्ने उद्देश्यका साथ यो कम्पनीको स्थापना भएको हो । जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिकेटिङको क्षेत्रमा काम गर्दै आएको छ । 

News Covered By: https://www.techpana.com/2022/120609/